काठमाडौं । धान रोपाइँको व्यस्त समयलाई मध्यनजर गर्दै सरकारले रासायनिक मलको आपूर्ति तीव्र बनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालका लागि ल्याइएको १ हजार २ सय ५० मेट्रिक टन डीएपी (डाइअमोनियम फस्फेट) मल भारतको रक्सौल नाकामा आइपुगेको छ।

कम्पनीका अनुसार कोलकाता बन्दरगाहबाट २ हजार ५ सय मेट्रिक टन डीएपी बोकेको अर्को रेलसमेत बुधबार रक्सौल पुग्ने तालिका रहेको छ। उक्त खेप नेपाल भित्रिएपछि विभिन्न जिल्लामा क्रमशः ढुवानी गरिने जनाइएको छ।

ad

यता, पूर्वी नाका विराटनगर हुँदै २ सय ५० मेट्रिक टन डीएपी मल नेपाल भित्रिइसकेको छ। थप परिमाणको मल ट्रकमार्फत विराटनगर ल्याउने प्रक्रिया जारी रहेको कम्पनीले जनाएको छ।

यसैगरी, भैरहवा र विराटनगरका लागि छुट्याइएको ७ सय ५० मेट्रिक टन युरिया मल बोकेका सवारीसाधन मंगलबार भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सम्बन्धित नाकामा मल आइपुगेपछि आवश्यक प्रक्रिया पूरा गरी किसानलाई यथाशीघ्र वितरण गरिनेछ। सरकारले धान रोपाइँका बेला मलको अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।