
काठमाडौँ । दक्षिण कोरिया रोजगारीका लागि आवश्यक कोरियन भाषा परीक्षाको आवेदन प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यसपटक कोरियाले विभिन्न क्षेत्रमा गरी ७ हजार २०० नेपाली कामदारको माग गरेको छ। सोही कोटाअनुसार भाषा परीक्षाको प्रक्रिया अघि बढाइएको ईपीएस कोरिया शाखाले जनाएको छ।
कोरियाको मानव संसाधन विकास संस्था (एचआरडी कोरिया) का अनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना कामदार माग गरिएको छ।
ईपीएस कोरिया शाखाका अनुसार इच्छुक नेपाली नागरिकले आगामी २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
भाषा परीक्षामा सहभागी हुन आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैरकानुनी रूपमा बसेर फर्काइएको इतिहास नभएको र नेपाल सरकारले विदेश जान रोक नलगाएको व्यक्ति मात्र आवेदनका लागि योग्य हुनेछन्।
यसैगरी, कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी समय बसेका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ।
ईपीएस भाषा परीक्षाका लागि आवेदन दिने उम्मेदवारले २८ अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि सफल उम्मेदवारका लागि अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ।
अन्तिम परीक्षामा सफल हुने उम्मेदवारको योग्यता नतिजा प्रकाशित भएको मितिले दुई वर्षसम्म मान्य रहने ईपीएस कोरिया शाखाले जनाएको छ।
कोरियन भाषा परीक्षा उत्तीर्ण भएपछि मात्र दक्षिण कोरियामा रोजगारीका लागि जाने प्रक्रियाको अर्को चरण सुरु हुनेछ।










Facebook Comments