
काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ मा सात कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डका अनुसार यी कम्पनीले कुल ४ करोड ९४ लाख १७ हजार ७६२ कित्ता हकप्रद सेयर जारी गर्नेछन्, जसको कुल मूल्य करिब ४ अर्ब ९४ करोड रुपैयाँ बराबर रहेको छ।
अनुमति प्राप्त कम्पनीमध्ये चार वटा जलविद्युत् क्षेत्रका छन् भने एक–एक वटा विकास बैंक, बीमा कम्पनी र होटल क्षेत्रका कम्पनी रहेका छन्। यसले गत आर्थिक वर्षमा हकप्रद निष्कासनको अनुमति पाउने कम्पनीहरूको संख्या सीमित रहेको देखाएको छ।
हकप्रद सेयर जारी गर्न स्वीकृति पाएका कम्पनीहरूमा शिवश्री हाइड्रोपावर, रिभर फल्स पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालय पावर पार्टनर, सिटी होटल, नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन्।
सेबोनका अनुसार सिटी होटलले हाल कायम चुक्ता पुँजीको १ः०.८० अनुपातमा, हिमालय पावर पार्टनरले १ः०.५० अनुपातमा तथा युनाइटेड अजोड इन्स्योरेन्सले १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएका छन्। बाँकी चार कम्पनीले भने १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने स्वीकृति प्राप्त गरेका छन्।
तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा हकप्रद निष्कासनको स्वीकृति उल्लेखनीय रूपमा घटेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बोर्डले १७ कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो भने गत आर्थिक वर्षमा यो संख्या सातमा सीमित भएको छ।
हकप्रद स्वीकृतिमा आएको कमीले पछिल्लो समय कम्पनीहरूको पुँजी विस्तारको रणनीति तथा बजार गतिविधिमा परिवर्तन आएको संकेत गरेको विश्लेषण गरिएको छ










Facebook Comments