काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य अपेक्षाअनुसार अघि नबढेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले निर्माणको वर्तमान गतिलाई हेर्दा सरकारले निर्धारण गरेको समयसीमाभित्र आयोजना सम्पन्न हुने सम्भावना कमजोर देखिएको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा गरिएको स्थलगत अनुगमनको समीक्षा गर्दै सदस्यहरूले राष्ट्रिय गौरवको आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाले।
बैठकमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले लामो समयदेखि निर्माणाधीन रहेको द्रुतमार्गको सम्पन्न हुने मिति अझै स्पष्ट हुन नसकेको बताए। सरकारले आगामी चार वर्षभित्र आयोजना पूरा गर्ने लक्ष्य राखे पनि स्थलगत निरीक्षण र प्राविधिकहरूसँगको छलफलका आधारमा उक्त समयसीमाभित्र काम सकिने संकेत नदेखिएको उनको भनाइ थियो।
यस्तै, राष्ट्रियसभा सदस्य युवराज शर्माले निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान गर्न नसक्दा आयोजना प्रभावित भएको बताए। उनले राष्ट्रिय गौरवका आयोजनामा देखिएको ढिलाइ अन्त्य गर्न सरकार बजेट व्यवस्थापन र कार्यान्वयन दुवै पक्षमा थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।
समितिले केही समयअघि काठमाडौं–तराई–मधेस द्रुतमार्ग, नागढुंगा सुरुङमार्ग तथा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमलगायतका आयोजनाको स्थलगत अनुगमन गरेको थियो। समितिकी सभापति पूजा चौधरीका अनुसार आगामी बैठकमा अनुगमन प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ।







Facebook Comments