काठमाडौं — धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव झेलिरहेका किसानका लागि ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिने प्रक्रिया सुरु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।

मन्त्रालयले पहिलो चरणमा एक हजार २५० मेट्रिक टन मल शुक्रबार नेपालतर्फ ढुवानी सुरु भएको जनाएको छ। यो खेप करिब चार दिनभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

ad

बाँकी मल भने कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) भइरहेको मन्त्रालयले जनाएको छ। प्याकेजिङ सकिएसँगै बाँकी खेप पनि चरणबद्ध रूपमा नेपाल पठाइने तयारी गरिएको छ।

यता, रोपाइँको व्यस्त समयमा मल अभाव भएपछि देशभरका किसान समस्यामा परेका छन्। आवश्यक समयमा रासायनिक मल नपाउँदा धान रोपाइँको गति प्रभावित भएको किसानहरूको गुनासो छ।

सरकारले भने आवश्यक परिमाणमा मल गोदाममा मौज्दात रहे पनि वितरणमा स्थानीय तहसँगको समन्वय प्रभावकारी हुन नसक्दा समस्या देखिएको दाबी गर्दै आएको छ। तर किसानहरूले हरेक वर्षझैँ यसपटक पनि रोपाइँकै समयमा मल अभाव झेल्नुपरेको बताएका छन्।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार असार ३२ गतेसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ७२ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको थियो। यसले मल अभावलगायतका कारण यस वर्ष रोपाइँको गति सुस्त बनेको संकेत गरेको छ।