काठमाडौं — आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ। कारोबारसँगै सरकारको राजस्व संकलन पनि उच्च भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार असार महिनामा देशभरका मालपोत कार्यालयमार्फत ७० हजार ४ सय ८० वटा घरजग्गा किनबेच (लिखत पास) भएका छन्। यो संख्या जेठ महिनाको तुलनामा १५ हजार ७ सय ५६ ले बढी हो। जेठमा ५४ हजार ७ सय २४ वटा लिखत पास भएका थिए।

ad

गत वर्षको असारसँग तुलना गर्दा पनि यस वर्ष घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार एक वर्षको अवधिमा लिखत पास हुने संख्या १४ हजार ९ सय ५६ ले बढेको हो, जुन करिब २६.९३ प्रतिशतको वृद्धि हो।

कारोबार बढेसँगै सरकारले उठाउने राजस्व पनि दोब्बरभन्दा बढी भएको छ। असार महिनामा घरजग्गा कारोबारबाट ११ अर्ब ८४ करोड ४९ लाख ५५ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। अघिल्लो महिना जेठमा भने यही शीर्षकबाट ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार रुपैयाँ राजस्व उठेको थियो।

घरजग्गा कारोबारबाट सरकारले सेवा शुल्क, रजिस्ट्रेसन दस्तुर तथा पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व संकलन गर्दै आएको छ। विभागका अनुसार असारमा सेवा करबाट ५४ करोड १६ लाख ७६ हजार रुपैयाँ, रजिस्ट्रेसन दस्तुरबाट ७१ करोड ५८ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ५१ करोड ६८ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

पछिल्ला केही महिनायता सुस्त देखिएको घरजग्गा बजार आर्थिक वर्षको अन्त्यमा पुनः चलायमान बन्दा कारोबार र सरकारी राजस्व दुवैमा सुधार देखिएको विभागको तथ्यांकले संकेत गरेको छ।