
काठमाडौं — सरकारले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गरेका हुन्।
नियुक्तिअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य चयन भएका छन्। डा. आचार्य यसअघि न्याम्सअन्तर्गत क्यान्सर विभागको प्रमुखका रूपमा कार्यरत थिए।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. नारायणसिंह गुरुङले पाएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।
उपकुलपति छनोटका लागि सरकारले गठन गरेको समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो।
समितिले उपकुलपति पदका लागि जेठ ४ गते आवेदन आह्वान गरेको थियो। उक्त प्रक्रियामा ११३ जनाले आवेदन दिएका थिए। आवेदन दिएका उम्मेदवारमध्ये मूल्यांकनपछि प्रत्येक प्रतिष्ठानका लागि ७ जनाका दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो।
त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा समितिले उपयुक्त उम्मेदवारको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ नेतृत्व चयन गरेको हो।










Facebook Comments