काठमाडौं।भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई हटाउने तयारी गरिएको भन्दै त्यसको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरबाट परिवारलाई स्थान खाली गर्न सरकारले निर्देशन दिएको भन्दै शुक्रबार नागरिकस्तरबाट विरोध प्रदर्शन गरिएको हो।

ad

‘जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहारविरुद्ध नागरिक एक्यबद्धता’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका सहभागीले जाडोको समयमा आश्रयविहीन बनाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए।

प्रदर्शनकारीहरूले सुकुम्वासी तथा भूमिहीन नागरिकको आवास अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाए। उनीहरूले ‘घर खोस्ने शासक चाहिँदैन’, ‘जनविरोधी निर्णय मान्दैनौँ’, ‘भूमिको अधिकार जिन्दावाद’, ‘विकासको नाममा उठीबास बन्द गर’ र ‘गरिबमाथिको ज्यादती बन्द गर’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सरकारले तत्काल होल्डिङ सेन्टर खाली गराउनेभन्दा पनि त्यहाँ आश्रय लिइरहेका परिवारको अवस्थालाई ध्यानमा राखेर मानवीय समाधान खोज्नुपर्ने प्रदर्शनकारीहरूको माग छ।

उनीहरूले सुकुम्वासी समस्यालाई बल प्रयोग गरेर समाधान गर्न नसकिने भन्दै भूमिहीन परिवारका लागि सुरक्षित आवास, उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको योजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले विकास निर्माणका नाममा विपन्न तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।