काठमाडौं । अमेरिकाले मेगन बोल्डिनलाई नेपालका लागि नयाँ कार्यवाहक राजदूतमा नियुक्त गरेको छ। बोल्डिनले आगामी केही महिना अमेरिकी नियोगको नेतृत्व सम्हाल्दै नेपालमा हालै आएको विनाशकारी बाढीपछिको प्रतिकार्य, राहत र पुनःस्थापनाका कार्यहरूलाई विशेष प्राथमिकता दिने अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अनुसार बोल्डिनले विशेषगरी बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको सहयोगमा केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा पुनर्लाभका कार्यहरूलाई तीव्रता दिनेछिन्। नेपालमा प्राकृतिक विपद्पछिको राहत प्रयास जारी रहेको बेला उनको यो नियुक्तिले नेपाल सरकार र स्थानीय साझेदारहरूसँगको साझेदारीलाई थप बलियो बनाउने अमेरिकाको प्रतिबद्धता झल्काएको छ।

ad

यसअघि बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत रहिसकेकी बोल्डिन अमेरिकाको वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य हुन्। संकट व्यवस्थापन, कूटनीति र नेतृत्वमा लामो अनुभव संगालेकी उनले यसअघि युक्रेन, इराक र वाशिङटनस्थित 'अपरेसन्स सेन्टर' जस्ता संवेदनशील क्षेत्रहरूमा महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिसकेकी छन्।

संकटको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पोख्त मानिने बोल्डिनको यो विशेषज्ञताले नेपालमा जारी राहत तथा पुनःस्थापनाका प्रयासहरूलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अमेरिकी दूतावासको अपेक्षा छ।