
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आगामी कात्तिक १२ गते गर्ने आन्तरिक तयारी अघि बढाएको छ । यद्यपि, कार्यक्रमको अन्तिम मिति र समय भने पूर्ण रूपमा निश्चित भइ नसकेको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा हाल मुलुकबाहिर रहेकाले शपथ र प्रमाणपत्र वितरणको औपचारिक मिति तय गर्न केही ढिलाइ भएको पनि समितिले जनाएको छ । नेता शर्मा स्वदेश फर्किएलगत्तै कार्यक्रमको निश्चित समय र तालिका टुंगो लाग्ने निर्वाचन समितिले जनाएको छ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको थियो। यसअघि नवनिर्वाचित सभापति गगन थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । सभापति थापाबाहेक अन्य २३० जना पदाधिकारी तथा सदस्यहरूले भने हालसम्म शपथ लिन र निर्वाचनको प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेको छ।









Facebook Comments