काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट बहुमत प्राप्त सरकारले कमजोर शासन सञ्चालन गरिरहेको बताए ।

उनले पतिनिधिसभाको आजको बैठकमा उनले बहुमत आफैंमा शासन गर्ने क्षमता नभएको भन्दै सरकारलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे । उनले बहुमत आफैँमा शासन गर्ने क्षमता नभएको उल्लेख गर्दै सरकारले जनविश्वास आर्जन गर्न नसकेको र झिना–मसिना मुद्दामा अल्झिरहेको बताए । 

ad

उनले भने– सरकारसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ । यो ठूलो राजनीतिक पूँजी हो । तर, बहुमत आफैंमा शासन गर्ने क्षमता होइन, ‘बहुमतले सरकार बनाउन सक्छ, तर जनताको विश्वास टिकाउन सक्दैन । त्यसका लागि दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम चाहिन्छ ।

सरकारले राज्यका तीनवटै तह, संसद्, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्नेमा सीमित राजनीतिक घेराभित्र आफूलाई राख्न खोजेको अनुभूति भएको उनको भनाई थियो । ‘सरकारले राज्य चलाउने हो, आफ्नो पक्ष या पक्षभित्रको कुनै सानो समूह मात्र चलाउने होइन,’ उनले भने । 

आङ्देम्बेले संसद्लाई सरकारले प्रतिस्पर्धीका रूपमा नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्न पनि आग्रह गरे । 
उनले प्रतिपक्षी दलका तर्फबाट प्रश्नहरू उठाइरहँदा प्रधानमन्त्रीको संसदमा उपस्थिति नहुनु संसदीय मर्यादा नभएको पनि बताए। ‘प्रधानमन्त्रीज्यू,संसद तपाईंको अनुकूलतामा चल्ने संस्था होइन। प्रमुख प्रतिपक्षी दलको तर्फबाट प्रश्नहरू राखिरहँदा यो सदनमा प्रधानमन्त्रीको उपस्थिति नहुनु संसदीय मर्यादा  हुँदैहोइन,’आङदेम्बेले भने।

प्रधानमन्त्री मन लाग्दा संसदमा आउने,बस्ने, नलाग्दा उठेर जाने,के यही हो हामीले विकास गर्न खोजेको संसदीय अभ्यास ? आङदेम्बेको प्रश्न थियो । 

नेता आङ्देम्बेले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन शाहले संसद्लाई जानकारी नगराइएकोमा पनि आपत्ति जनाए ।  नेता आङदेम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा र फर्कँदा प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिएर संसदीय परम्परा र मर्यादाको उल्लङ्घन गरेको उनको आरोप थियो ।