काठमाडौं । विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाबारे सुरक्षा संयन्त्रलाई अघिल्लो दिन नै सूचना पुगेको खुलेको छ। स्रोतका अनुसार सम्भावित अवरोधबारे मन्त्रालयबाट जानकारी आएपछि गुप्तचर निकायले सोमबार बिहानैदेखि प्रमुख मिडिया हाउसको निगरानी थालेको थियो।

सुरक्षा स्रोतका अनुसार प्रारम्भिक सूचनामा सञ्चारगृहमा अवरोध हुन सक्ने उल्लेख भए पनि त्यसको स्वरूप खुलाइएको थिएन। त्यसैले सुरक्षाकर्मीले सम्भावित प्रदर्शन, नाराबाजी वा समूहगत गतिविधिलाई ध्यानमा राखेर निगरानी गरेका थिए।

ad

तर केही समयपछि विभिन्न सञ्चारगृहका मुख्य प्रवेशद्वारमै सवारीसाधन पार्किङ गरेर आवतजावतमा अवरोध गरिएको घटना सार्वजनिक भएको थियो। सुरक्षा स्रोतका अनुसार प्रारम्भिक सूचनामा व्यक्तिको गतिविधिमाथि केन्द्रित भएकाले पार्किङमार्फत अवरोध सिर्जना गरिने सम्भावनातर्फ तत्काल ध्यान पुग्न सकेन।

घटनामा प्रयोग भएका केही सवारीसाधनको स्वामित्व सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध व्यक्तिसँग जोडिएको विवरण सार्वजनिक भएपछि घटनाले थप राजनीतिक चर्चा पाएको छ। कान्तिपुर पब्लिकेसन्सको गेट अगाडि पार्किङ गरिएको एउटा सवारी रास्वपाका एक नेताको नाममा दर्ता रहेको विवरण सार्वजनिक भइसकेको छ।

घटनापछि पूर्वप्रहरी अधिकारीहरूले पनि राज्यको संरक्षण वा प्रभावबिना यस्ता समन्वित गतिविधि गर्न कठिन हुने भन्दै निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार सवारीधनीलाई सम्पर्क गर्दा पनि तत्काल गाडी नहटाइनु र घटनाको विस्तृत अनुसन्धान अघि नबढ्नुले थप प्रश्न खडा गरेको छ।

यद्यपि सरकारले भने यस घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने काम भइरहेको र कानुन उल्लंघन गरेको प्रमाणित भए जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।

यसैबीच, ट्राफिक प्रहरीले अवैध रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिएको जनाएको छ। तर घटनाको प्रकृति र सम्भावित योजनाबद्ध संलग्नताबारे अनुसन्धानको माग भने यथावत् रहेको छ।