काठमाडौं । त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले प्रहरीमा  जाहेरी दिएका छन् । गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । प्रहरी वृत्त, कालीमाटीले पीडित परिवारले दिएको जाहेरी  दर्ता गरेको छ । 


आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । 
जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ ।

ad

गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ । असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद हुँदा गणेशले आत्मदाह गरेका थिए ।