
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्नुपरेकोदेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिका भोकले तडपिरहेको अवस्थासम्मका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत जारी गरेको भिडिओ सन्देशमा यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीति नभई समाजमा आशा जगाउने प्रश्नका रूपमा लिन समेत आग्रह गरेका छन्।
सरकारले बर्खाको समयमा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थीजस्तै बनाएका सुकुम्बासीहरू अझ कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै उपसभापति शर्माले होल्डिङ सेन्टरमा कोही पनि भोकै बस्न नपरोस्, फेरि कसैले आत्मदाह गर्नुपर्ने अवस्था नआओस् भन्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
उपसभापति शर्माले अहिले सरकारको आलोचना गर्नेभन्दा पनि सहकार्य गरेर समाजमा आशा जगाउनुपर्ने आवश्यकता रहेको बताए।
यस्ता विषयमा कांग्रेस सरकारको साथ उभिन चाहेको समेत उनले स्पष्ट पारे । उनले भने–सरकार सिंहदरबारमा भेटियोस्, संसद्मा भेटियोस्, सुकुम्बासीका अगाडि भेटियोस्, निराश भएको युवकको अगाडि भेटियोस् र उसलाई भनिदियोस्— सरकार छ, निराश हुनुपर्दैन, कसैले जीवन त्याग्नुपर्दैन।










Facebook Comments