
बैंककको चर्चित चाटुचकस्थित एक बारमा गएराति भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।
स्थानीय समयअनुसार सोमबार मध्यरातमा 'रोङ बियर ना लात फ्राओ' (Rong Beer Na Lat Phrao) नामक रेष्टुरेन्ट तथा बारमा यो दुर्घटना भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार बारको स्टेज नजिकैबाट सुरु भएको आगो क्षणभरमै भित्र फैलिएको थियो। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सार्वजनिक भएका भिडियोहरूमा मानिसहरू चिच्याउँदै, लड्दै-पड्दै आगोको ज्वालाबाट बाहिर भागिरहेको भयानक दृश्य देखिन्छ।
राति करिब ११:३० बजे बाटो हिँड्ने एक चालकले बारमा आगो लागेको देखेपछि तुरुन्तै गाडी रोकेर झ्यालको सिसा फुटाउँदै दुई जनाको ज्यान बचाएका थिए। त्यसको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइए पनि ठूलो मानवीय क्षति भइसकेको थियो।
उद्धारमा खटिएका स्थानीय मोटरसाइकल चालक सुरिन जाइहानले केही व्यक्तिको शरीरमा लागेको आगो कपडाले निभाएर बचाएको बताए। उनले भने,"मैले धेरैको शव देखेँ,निकै दुःख लागिरहेको छ। मैले बचाएका मानिसहरू अहिले कस्तो अवस्थामा होलान्,थाहा छैन।"
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले घटनाबारे जानकारी दिँदै सो समयमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीसँग कुराकानी गरेको बताएका छन्। ती संगीतकर्मीका अनुसार सुरुमा मेन स्विच (कट-आउट स्विच) मा आगो सल्किएको र लगत्तै ठूलो विस्फोटसहित धुवाँ फैलिएको थियो।
"धेरैजसो मानिसहरू धुवाँ र आगोबाट बच्न भागिरहेका थिए। तर, बाहिर निस्कने बाटो नपाएपछि उनीहरू भवनको पछाडि रहेको शौचालयमा लुक्न पुगे। दुःखद कुरा, अधिकांश शवहरू त्यहीँ भित्र भेटिए," प्रधानमन्त्री अनुतिनले सञ्चारकर्मीलाई भने।
बैंककको विपद् व्यवस्थापन विभागका निर्देशक सुरियाचाई रविभानका अनुसार प्रारम्भिक अनुसन्धानले धेरैजसो पीडितको मृत्यु निसास्सिएका कारण भएको देखाएको छ। मृत्यु हुनेमा १८ जना महिला र ९ जना पुरुष रहेका छन्। अन्य ६० भन्दा बढी घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
बैंककका गभर्नर चाटचार्ट सित्तिपुन्तले घटनास्थलको निरीक्षण गर्दै बारको छतमा प्रयोग गरिएका अत्यधिक प्रज्वलनशील सजावटका सामानका कारण आगो तीव्र गतिमा फैलिएको बताए। ती सामानहरू बल्दा निस्किएको विषाक्त धुवाँले मानिसहरूलाई बेहोस बनाएको हुनसक्ने उनको अनुमान छ।
गभर्नर सित्तिपुन्तका अनुसार बारको आपतकालीन थुप्रै मानिसहरू निकास नजिकै बेहोस अवस्थामा फेला परेका थिए। आपतकालीन ढोका अगाडि टेबल वा अन्य सामान राखिएका कारण मानिसहरू समयमै बाहिर निस्कन नसकेको आशंका गरिएको छ। यद्यपि, यसबारे फरेन्सिक टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ।
थाइल्याण्डमा यस्ता रात्रीकालीन क्लब र बारहरूमा आगलागी भएको यो पहिलो पटक भने होइन।
चार वर्षअघि बैंककको दक्षिणी सहरको एक बारमा आगलागी हुँदा २२ जनाले ज्यान गुमाएका थिए।
सन् २००९ मा राजधानीकै एक नाइटक्लबमा भएको भीषण आगलागीमा ६६ जनाको मृत्यु भएको थियो।
विगतका दुर्घटनापछि सरकारले अग्नि तथा विद्युतीय सुरक्षा मापदण्डमा सुधार गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा नियमहरूको पालना र अनुगमन फितलो हुँदा यस्ता दुःखद घटना दोहोरिरहेको भन्दै आलोचना सुरु भएको छ।










Facebook Comments