
काठमाडौं । गणेश नेपालीको आत्मदाह तथा त्यसपछिको मृत्यु प्रकरणको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। घटनाबारे निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धतासहित सोधपुछका लागि तीन जना काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए। उनले घटनाको सबै पक्षको वस्तुनिष्ठ अनुसन्धान गरिने र दोषी देखिएकामाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।
घटनापछि प्रत्यक्षदर्शीहरूले काठमाडौं महानगरपालिकाको नगर प्रहरीमाथि लापरबाही गरेको आरोप लगाएपछि गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया तीव्र बनाएको हो। त्यसक्रममा महानगर प्रहरी प्रमुख विष्णु जोशी र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई मन्त्रालयमा बोलाएर घटनाको अवस्थाबारे जानकारी लिइएको छ।
गृह मन्त्रालयका अनुसार घटनाका क्रममा नगर प्रहरीको भूमिका, घटनापछिको व्यवस्थापन तथा जिम्मेवारीका विषयमा तथ्य संकलन भइरहेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।
गणेश नेपालीको आत्मदाह र मृत्यु प्रकरणपछि घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा जिम्मेवार पक्षको पहिचान गर्नुपर्ने माग चुलिँदै गएको छ। त्यसैबीच सरकारले गठन गरेको छानबिन समितिलाई घटनाको वास्तविकता उजागर गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।









Facebook Comments