
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले खोजी गर्ने क्रममा उनको शव बल्खुस्थित कुमारी क्लबभन्दा तल बागमती नदीको किनारमा फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको सूचना पाएपछि तत्काल प्रहरी टोली खोजीमा परिचालन गरिएको थियो।
काठमाडौं प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार मृतक महिला अन्दाजी ३५ वर्षीया रहेको अनुमान गरिएको छ। ती महिलाले सेतो टिसर्ट, गुलाबी ज्याकेट र सुरुवाल लगाएकी थिइन्।
खोजीका क्रममा उनको शव धोबीखोलाबाट बग्दै बल्खुस्थित कुमारी क्लबभन्दा तल बागमती नदी क्षेत्रमा पुगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
हाल घटनास्थलमा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि पठाइने एसपी भट्टराईले जानकारी दिए।
मृतक महिलाको पहिचान खुल्न सकेको छैन। उनले किन खोलामा हाम फालेकी हुन् भन्ने विषय पनि स्पष्ट नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।









Facebook Comments