
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाएसँगै फरार रहेका अभियुक्तहरूको खोजी तीव्र बनाइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले मंगलबार उक्त बहुचर्चित मुद्दामा फैसला गर्दै १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनाले प्रमाण अभावका कारण सफाइ पाएका छन्।
यो मुद्दा २०८० साल जेठमा अदालतमा दर्ता भएको थियो। अनुसन्धानपछि उच्चपदस्थ सरकारी कर्मचारी, पूर्वमन्त्री, राजनीतिक नेतृत्व तथा अन्य व्यक्तिसहित ३० जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो।
फैसलापछि अदालतबाट दोषी ठहर भएका तर सम्पर्कमा नरहेका अभियुक्तलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरी सजाय कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको स्रोतले जनाएको छ। अदालतले सजाय निर्धारण (सुनुवाइ) पछि दोषी ठहर भएकाहरूको कैद तथा जरिवानाको टुंगो लगाउनेछ।
यो प्रकरणलाई नेपालको पछिल्लो समयको सबैभन्दा चर्चित मानव तस्करी र संगठित ठगीसम्बन्धी मुद्दामध्ये एक मानिएको छ। अदालतको फैसलापछि अब फरार अभियुक्तको पक्राउ, सजाय निर्धारण तथा फैसला कार्यान्वयनतर्फ कानुनी प्रक्रिया अघि बढ्नेछ।









Facebook Comments