चितवन। चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्वको प्रमुख कारण मानिएको ‘ध्रुवे’ नामक जंगली हात्तीलाई नियन्त्रणमा लिएर पुनः दाह्रा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको छ। निकुञ्जका अनुसार हात्ती फेला परेपछि बेहोस बनाएर आवश्यक प्रक्रिया अघि बढाइनेछ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यसअघि जडान गरिएको रेडियो कलर प्रभावकारी रूपमा काम गर्न छाडेकाले नयाँ उपकरण जडान गर्न लागिएको हो। यसबाट हात्तीको गतिविधि वास्तविक समयमा निगरानी गर्न र बस्तीतर्फ आउँदा स्थानीयलाई समयमै सतर्क गराउन सहज हुने अपेक्षा गरिएको छ।

ad

ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। निकुञ्जका अनुसार यो घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। घटनापछि हात्तीको निरन्तर निगरानी भइरहेको छ।

सोही हात्तीले सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्रनजिक दुई घरमा पसेर अन्नसमेत नोक्सान गरेको निकुञ्जले जनाएको छ। प्रमुख संरक्षण अधिकृत पुनले हात्ती भेटिएलगत्तै ‘डार्ट’ प्रयोग गरेर बेहोस बनाइने, त्यसपछि दाह्रा छोट्याउने र नयाँ रेडियो कलर जडान गरिने बताए।

निकुञ्जका अनुसार ध्रुवेको घाँटीमा विगतमा पनि पटक–पटक रेडियो कलर जडान गरिएको छ भने करिब दुई वर्षअघि दाह्रा पनि काटिएको थियो। यद्यपि पछिल्ला घटनापछि थप प्रभावकारी निगरानी आवश्यक ठहर गरिएको हो।

शनिबारको आक्रमणका क्रममा जंगली हात्तीलाई धपाउने प्रयास हुँदा आगो सल्किएर आशिका बोटेको घरसमेत जलेर नष्ट भएको थियो। निकुञ्ज, स्थानीय विपद् व्यवस्थापन समिति र अन्य सरोकारवालाले क्षतिग्रस्त घर पुनर्निर्माणमा सहयोग गर्ने तयारी गरेका छन्।

निकुञ्जका अनुसार ध्रुवेले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको थियो। २०६९ सालसम्म आइपुग्दा मात्रै १५ जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले त्यसलाई मार्ने निर्णयसमेत गरेको थियो। पछि नियन्त्रण र निगरानीमार्फत व्यवस्थापन गर्ने नीति अपनाइएपछि रेडियो कलर जडान र दाह्रा छोट्याउने उपाय अवलम्बन हुँदै आएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ४५ देखि ५० वटा जंगली हात्ती रहेको अनुमान गरिएको छ। ‘ध्रुवे’, ‘गोविन्दे’ र ‘रोनाल्डो’ नामले चिनिने केही भाले हात्तीमध्ये ध्रुवे नै सबैभन्दा बढी मानव–हात्ती द्वन्द्वसँग जोडिएको हात्तीका रूपमा चिनिएको छ।