
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका विषयमा सांसदहरुबीच विवाद बढ्दा समितिको बैठक स्थगित भएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने बिषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको थियो । बैठकमा सत्तारुढ रास्वपाका सांसदहरुले लेखा समितिको सभापति बिपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफूहरुले सम्मानजनक भूमिका पाउनु पर्ने बताएका थिए ।
समिति सदस्य खगेन्द्र सुनारले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने अडान राखे ।
बैठकमा नेकपा सांसद महेन्द्रबहादुर शाहीले उपसमिति संयोजक छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिए । उपसमिति संयोजकको बिषयमा टुङ्गो नलागेपछि समिति सभापति भरतबहादुर खड्काले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।









Facebook Comments