ललितपुर । ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीप्रति अश्लील व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बैतडीको पाटन नगरपालिका स्थायी घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भट्टमाथि सार्वजनिक स्थानमा एक्लै हिँडिरहेकी युवतीलाई आफ्नो गोप्य अङ्ग देखाएर अभद्र व्यवहार गरेको आरोप लागेको छ। घटनापछि पीडित युवतीले प्रहरी प्रभाग इमाडोलमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।

ad

घटना आइतबार साँझ करिब ६ः३० बजे इमाडोलको एक गल्लीमा भएको बताइएको छ। पीडित युवतीले आरोपितको भिडियो खिच्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना व्यापक चर्चामा आएको थियो। भिडियोमा आरोपित घटनास्थलबाट हिँड्न खोजिरहेको र युवतीले स्थानीयलाई उनलाई नियन्त्रणमा लिन आग्रह गरिरहेको देखिन्छ।

स्थानीयको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि युवतीले प्रहरीमा औपचारिक उजुरी दर्ता गराएकी थिइन्। उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। दोष प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही गरिने पनि प्रहरीको भनाइ छ।