
काठमाडौं — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार ग्रहण गरेका छन्। उनले रानीपोखरीस्थित कार्यालयमा पदभार सम्हाल्दै उपत्यकाको सुरक्षा नेतृत्वको जिम्मेवारी लिएका हुन्।
मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गरिएको थियो। सोही निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत राठौरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा खटाइएको हो।
उपत्यका प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा समन्वय तथा कमाण्डको जिम्मेवारी वहन गर्दै आएको छ।
सरुवाअनुसार उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा पठाइएको छ। त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एआईजी डा. मनोज केसीलाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ भने कार्य विभागमा रहेका एआईजी उमाप्रसाद चतुर्वेदीलाई सीआईबीको नेतृत्वमा पठाइएको छ।
यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभाग र एआईजी हिमालयकुमार श्रेष्ठलाई कार्य विभागमा सरुवा गरिएको छ। प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर बिक प्रशासन विभागमा पुगेका छन्।
मानवस्रोत विकास विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको सरकारको निर्णयमा उल्लेख छ।









Facebook Comments