
काठमाडौं। नेपाली समुदायलाई लक्षित गर्दै नयाँ डेटिङ तथा सम्बन्ध निर्माण प्लेटफर्म ‘लमी’ सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार एपले मित्रता, प्रेम सम्बन्ध (डेटिङ) तथा विवाहका लागि उपयुक्त जीवनसाथी खोज्न चाहने नेपालीलाई सुरक्षित र सहज डिजिटल माध्यम उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीले ‘लमी’लाई सामान्य डेटिङ एपभन्दा फरक रूपमा नेपाली संस्कार, मूल्य–मान्यता र आधुनिक प्रविधिलाई जोड्ने प्लेटफर्मका रूपमा विकास गरिएको जनाएको छ। हालसम्म एप १० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको कम्पनीको दाबी छ।
एपमा प्रयोगकर्ताको रुचि, उमेर, धर्म, जात, शिक्षा, वैवाहिक अवस्था तथा जीवनका लक्ष्यजस्ता मापदण्डका आधारमा उपयुक्त प्रोफाइल सिफारिस गर्ने सुविधा रहेको जनाइएको छ। उन्नत एल्गोरिदममार्फत प्रयोगकर्ताको प्राथमिकताअनुसार मिल्दाजुल्दा प्रोफाइल मात्र देखाइने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
सुरक्षालाई प्राथमिकतामा राख्दै एपमा प्रोफाइल प्रमाणीकरण (भेरिफिकेसन) को सुविधा राखिएको छ। प्रयोगकर्ताले आफ्नो पहिचान पुष्टि गर्न आवश्यक कागजात अपलोड गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ, जसले नक्कली प्रोफाइलको जोखिम कम गर्ने विश्वास गरिएको छ।
एपमा प्रिमियम प्रयोगकर्ताका लागि थप सुविधासमेत उपलब्ध छन्। झुक्किएर ‘लेफ्ट स्वाइप’ गरिएको प्रोफाइललाई पुनः हेर्न सकिने ‘रिविन्ड’ सुविधा, मन परेका प्रोफाइललाई ‘बुकमार्क’ गरेर सुरक्षित राख्ने विकल्प तथा अन्य अतिरिक्त सेवा प्रिमियम योजनाअन्तर्गत समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रिमियम सदस्यताको शुल्क एक साताका लागि रु. १९९, एक महिनाका लागि रु. ६९९ र तीन महिनाका लागि रु. १,९९९ निर्धारण गरिएको छ।
‘लमी’का प्रबन्ध निर्देशक नबिन श्रेष्ठका अनुसार पहिले विवाहका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने ‘लमी’को अवधारणालाई डिजिटल माध्यममा रूपान्तरण गरिएको हो। उनका अनुसार अहिलेको पुस्ताले आफैंले बुझेर र रोजेको व्यक्तिसँग सम्बन्ध स्थापित गर्न रुचाउने भएकाले एपले नेपालभित्र तथा विश्वभर रहेका नेपालीलाई जोड्ने माध्यम बन्ने अपेक्षा गरिएको छ।
कम्पनीले सुरक्षा, गोपनीयता र नेपाली मौलिकतालाई प्राथमिकता दिँदै एप विकास गरिएको जनाएको छ। एपलाई फोन नम्बर, इमेल वा सामाजिक सञ्जालमार्फत सहज रूपमा लगइन गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको कम्पनीको भनाइ छ।










Facebook Comments