काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको सूची सच्याएको छ ।

यसअघि निर्वाचित भएको घोषणा गरिएका दुई जना केन्द्रीय सदस्यको नाम हटाएर रास्वपा केन्द्रीय निर्वाचन आयोगले नयाँ दुई जनाको नाम समावेश गरेको हो ।  उजुरीका आधारमा कागजात र प्रमाण अध्ययन गरेर आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाउँदै उक्त स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

ad

आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरिएको भन्दै मगर र बास्तोलाले पार्टी निर्वाचन आयोगमा उजुरी दिएका थिए। उक्त उजुरी परेपछि असार १२ गते बसेको पार्टी निर्वाचन आयोगले त्रुटि सच्याएको हो।

‘आयोगको निर्णयमा भनिएको छ–महाधिवेशन निर्वाचन कार्यविधि २०८२ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा, मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकोले निज ध्रुव कुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गरियो । ‘त्यसैगरी प्रादेशिक (भूगोल तर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोलालाई निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी पूजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो।