काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरुपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।  

६८औँ संसद् दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालिएको टिप्पणी गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्न नहुने बताए । उनले भने– जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक निष्कर्षलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । यसप्रति कुनै प्रश्नचिह्न उठाउनु हुँदैन । 

ad

सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसलाई कुनै पनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने पनि बताए । 

उनले संसद् दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नमनाई यसलाई देश र जनताप्रतिको दृढ प्रतिवद्धतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।