काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि हाम्रो सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको बताएका छन् ।

आज असार १५ राष्ट्रिय धान दिवस तथा दहि–चिउरा खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले अन्नदाता किसानप्रति उच्च सम्मान समेत प्रकट गरेका छन्। 

ad

सभापति थापाले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई किसानको श्रम, संघर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् । खेतमा रोपिने प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा र राष्ट्रको समृद्धि जोडिएको उनले स्पष्ट पारेका छन् । 

उनले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभई नागरिकको जीवन सुरक्षा र संविधानको मर्म कार्यान्वयनसँग जोडिएको बताएका छन्।
शुभकामना सन्देशमा उनले हरेक वर्ष किसानहरूले बीउ, मल, सिँचाइ तथा उचित मूल्यको अभावमा संघर्ष गर्नुपरेको यथार्थ औंल्याएका छन्। साथै नेपालको धान खेती अझै पनि ठूलो मात्रामा वर्षा र आकाशे पानीमा निर्भर रहनु परेको उल्लेख गर्दै जलवायु संकटले कृषिमा थप चुनौती सिर्जना गरेको बताएका छन्।