काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूती गर्न नपाएको बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको उच्चतम बिन्दु ११७.६३ डलर प्रति ब्यारेलबाट घटेर ६९.२१ डलरमा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसके पनि नेपालमा इन्धनको मूल्य नघटाएको भन्दै महामन्त्री प्रदीप पौडेलले सरकारप्रति आक्रोश पोखेका हुन् । 

ad

उनले सामाजिक सञ्जाल फेसबुकमा यति ठुलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद रहेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ?, उनले प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमा उनी अगाडि लेख्छन्–’मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले  ’हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भन्ने जस्ता बहाना देखाउने गरेको छ । कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ । तर, कच्चा तेलको मूल्यमा आएको यति ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ । ’

’यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आम उपभोक्ता थप मारमा परेका छन् । यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ। नियमित १५–१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने हो । भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागु नहुने । घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।