
काठमाडौं । पूर्वसहमतिबमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा त्यसो नभएको भन्दै नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको घोषणा गरेको छ ।
विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलपछि बिहीबार पारित भइसकेको छ । अब सो विधेयक प्रतिनिधिसभामा पेस हुनेछ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइनेछ ।









Facebook Comments