काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको समेत बताए । रास्वपाका सभापति रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोपबारे प्रधानमन्त्री ओलीले भने–एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?

ad

प्रधानमन्त्री ओलीले भिडद्वारा न्यायको हत्या गर्ने र अभियोगमुक्त हुन खोज्नेहरुको समयले यसको जबाफ सधैं माग्ने बताए। प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जे सुकै भए पनि त्यसमा सरकारको हात हुँदैन भन्ने कुरा सबैले बुझ्न जरूरी रहेको पनि बताए ।