
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्तिका निम्ति सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहका निम्ति सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए ।
भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ थियो । उनले भने, “बिनामोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्छ भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् ।”
प्रधानमन्त्री ओलीले अगाडि भने, “आफूभन्दा मातहतका मानिस वा सार्वजनिक रूपमा गिर्ने गरी कुनै कामा नगर्नुस् । अरूको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।”









Facebook Comments