
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए । उनले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए।
राष्ट्रपति पौडेलले आफ्नो युवावय सम्झँदै भने, “यो क्षणमा मैले आफ्नो युवावयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।”








Facebook Comments