काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले यसमा भएको त्रुटिमा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई जिम्मेवार देखाएको छ ।

छानविन समितिले सभापति खतिवडा र सचिव दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको समाचारस्रोतले जनाएको छ । दुई दिन, दुई रातको छलफलपछि मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको बताइएको छ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न कांग्रेसका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा गठित विशेष समितिले तयार पारेको प्रतिवेदनमा समितिका सबै ७ जना सदस्यहरूले हस्ताक्षर गर्दै सहमति जनाएका छन् ।

ad

समितिका सदस्यमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य छन ।