काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । संसदीय दलमा आज भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको छ । बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसी पनि उपस्थित भएका थिए ।

प्रस्तावको पक्षमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङले मतदान गरेका थिए ।

ad

अविश्वास प्रस्तावको विपक्षमा भने बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गीेले मतदान गरेका थिए ।

बैठकको सुरुमा नै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।

बैठकमा छलफल भएर आज नै प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन एवं सनाखत भएको हो । बहुमत सांसदहरुले सनाखत गरेपछि तामाङ विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।

कांग्रेसको विधानअनुसार मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता हुन आवश्यक छ । संसदीय दलको नेतामा बानियाँलाई बहुमत सांसदहरुले समर्थन गरेसँगै अब उनी मुख्यमन्त्री हुने निश्चित भएको छ ।