काठमाडौं । नेवार समुदायमा दसैँलाई ‘मोहनी नख’ का रूपमा मनाउने विशिष्ट परम्परा छ। यस पर्वमा रातो टीकासँगै प्रयोग गरिने कालो टीका अर्थात् ‘मोहनी सिन्ह’ ले धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परालाई प्रतिनिधित्व गर्छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बेनले नेवार समुदायको यही परम्परासँग जोडिएको कालो टीकाको महत्त्व र यसको निर्माण प्रक्रियाबारे जानकारी दिएका छन्।

ad

मोहनी सिन्ह तयार पार्ने विधि अन्य समुदायमा प्रचलित टीका लगाउने परम्पराभन्दा फरक छ। परम्परागत विधिअनुसार तोरीको तेल प्रयोग गरी बालिएको पालामा लगातार तीन दिनसम्म अखण्ड दीप प्रज्वलन गरिन्छ। त्यसपछि दीपको माथि माटोको सानो भाँडो (सलि) घोप्ट्याएर जम्मा भएको कालो काजल अर्थात् मोसो सङ्कलन गरिन्छ। यही मोसोबाट मोहनी सिन्ह तयार पार्ने परम्परा रहेको छ।

विजया दशमीका दिन परिवारका सदस्यहरू एकत्रित भएर तयार पारिएको मोहनी सिन्हको दर्शन गरेपछि मात्र यसको प्रयोग गर्ने चलन छ। यस क्रममा टीकाभित्र ईश्वरीय आकृति देखिने जनविश्वाससमेत नेवार समुदायमा प्रचलित छ।

नेवार संस्कृतिमा मोहनी सिन्ह केवल कालो टीका मात्र नभई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ। दसैँका अवसरमा निधारमा रातो अक्षतायुक्त टीका लगाएपछि त्यसको ठीक तल कालो मोहनी सिन्ह लगाउने परम्परा छ।

विशिष्ट विधिबाट तयार गरिने मोहनी सिन्हले नेवार समुदायको धार्मिक विश्वास, मौलिक संस्कृति र परम्परागत जीवनशैलीलाई झल्काउँछ। यस्ता सांस्कृतिक अभ्यासले नयाँ पुस्तालाई आफ्नो पहिचान र पुर्खादेखि चलिआएका रीतिरिवाजसँग जोड्नसमेत महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।