
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उङ्गिलुङ खोलामा आएको बाढी र पहिरोका कारण पाँच जना सम्पर्कविहीन भएका छन्। पहिरोले चारवटा भेडीगोठसँगै त्यहाँ रहेका करिब डेढ सय पशुचौपायासमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती लाक्पा थोर्मा लामा, ६६ वर्षीया सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरू उक्त क्षेत्रका भेडीगोठमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले भेडीगोठ बगाएपछि त्यहाँ रहेका पाँच जना सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले चार परिवारका चारवटा भेडीगोठ पहिरोले बगाएको जानकारी दिए।‘चार परिवारका चारवटा भेडीगोठ रहेछन्। ती सबै बगाएको छ। गोठमा बस्ने पाँच जना सम्पर्कविहीन छन्,’ उनले भने।
सम्पर्कविहीन पाँचै जनाको खोजीका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन गरिएको छ। खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाको हेलिकप्टरसमेत प्रयोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार घटनास्थल आसपास खोजी गर्नुका साथै नदीको तल्लो तटीय क्षेत्रमा पनि सूचना संकलन र खोजी भइरहेको छ।‘तलबाट पनि सूचना लिने काम भइरहेको छ। हेलिकप्टरसँगै स्थानीय र प्रहरीद्वारा खोजी भइरहेको छ,’ शर्माले भने।
दुर्गम भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण भए पनि सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउन प्रयास जारी रहेको प्रशासनले जनाएको छ।
उङ्गिलुङ खोलामा पहिरो खस्दा पानीको बहाव थुनिएको र पछि एक्कासि खोलिएपछि बूढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको प्रारम्भिक विवरण छ। उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिन्छ। पहिरोले खोला थुनेपछि जम्मा भएको पानी एकैपटक बगेको र त्यसले नदीमा बाढी ल्याएको बताइएको छ।
बाढीले उत्तरी गोरखाको माथिल्लो क्षेत्रमा क्षति पुर्याउनुका साथै नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ। घटनामा बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रशासनले खोजी तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।



Facebook Comments