
काठमाडौँ। रसुवा बाढीपछि फेला परेका शव तथा मानव अंग आफन्तकै हुन् कि होइनन् भन्ने यकिन गर्न प्रहरीले डीएनए परीक्षणका लागि आफन्तबाट नमुना संकलन गर्न थालेको छ। बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी डीएनए नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो।
नेपाल प्रहरीले रक्तसम्बन्ध भएका आफन्तको नमुना लिएर फेला परेका शव तथा शरीरका अंगसँग डीएनए मिलान गर्न सकिने जनाएको छ। यसका लागि आफन्तले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
डीएनए नमुना उपलब्ध गराउने व्यक्तिले आफ्नो दुई प्रति पासपोर्ट साइजको फोटो समेत साथमा लैजानुपर्ने प्रहरीले जनाएको छ।
विदेशमा रहेका आफन्तले पनि पठाउन सक्ने
बेपत्ता व्यक्तिका नजिकका आफन्त विदेशमा रहेको अवस्थामा पनि डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन सकिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विदेशमा रहेका आफन्तले बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको डीएनए प्रोफाइलिङ गराएर त्यसको सफ्टकपी नेपाल पठाउन सक्छन्।
विदेशमा तयार गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी dnacodis@nepalpolice.gov.np इमेल ठेगानामा पठाउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले डीएनए नमुना संकलन र प्रोफाइलिङमार्फत पहिचान हुन नसकेका शव तथा मानव अंगको वैज्ञानिक विधिबाट पहिचान गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
९ सयभन्दा बढी शव फेला, हजारौँ अझै बेपत्ता
रसुवा बाढीमा परी मृत्यु भएका ९ सयभन्दा बढी व्यक्तिको शव फेला परिसकेको छ। बाढीपछि ४ हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
ठूलो संख्यामा शव तथा मानव अंग फेला परिरहेका कारण पहिचानमा चुनौती देखिएको छ। यस्तो अवस्थामा आफन्तबाट संकलन गरिने डीएनए नमुनालाई शव पहिचानको महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिने प्रहरीले जनाएको छ।









Facebook Comments