
नेपालको वैदेशिक व्यापारमा वीरगञ्ज नाकाले आफ्नो एकछत्र दबदबा कायम राखेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार देशको कुल आयात र निर्यात दुवैमा वीरगञ्ज नाका अग्रस्थानमा रहेको हो।
समीक्षा वर्षमा नेपालको कुल आयात २० खर्ब ९६ अर्ब ३७ करोड पुग्दा निर्यात भने ३ खर्ब १५ अर्ब २९ करोडमा सीमित भएको छ। यसमध्ये वीरगञ्ज नाकाबाट मात्रै ९ खर्ब ८६ अर्ब ४३ करोड बराबरको वस्तु भित्रिएको छ, जुन कुल आयातको ४७.०५ प्रतिशत हो। यस्तै १ खर्ब १४ अर्ब ८५ करोड बराबरको नेपाली उत्पादन बाहिरिएको छ, जसले कुल निर्यातको ३६.४३ प्रतिशत ओगटेको छ।
आयाततर्फ वीरगञ्जपछि भैरहवाबाट ३ खर्ब ४ अर्ब १७ करोड र विराटनगरबाट २ खर्ब ४१ अर्ब ९६ करोडको सामान भित्रिएको छ। निर्याततर्फ विराटनगर नाका दोस्रो स्थानमा रहँदै ८८ अर्ब ७२ करोडको वस्तु बाहिरिएको छ भने हवाई मार्गमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ३७ अर्ब ९४ करोडको निर्यात गर्दै १२.०३ प्रतिशत हिस्सा ओगटेको छ। समग्रमा वीरगञ्ज, भैरहवा, विराटनगर र त्रिभुवन विमानस्थल गरी चारवटा नाकाले मात्रै मुलुकको कुल आयातको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
भन्सार विभागको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा एकतर्फी निर्भरताको गम्भीर चित्र उजागर गरेको छ। देशका ११ वटा भन्सार नाका यस्ता छन्, जहाँबाट अर्बौँ रुपैयाँका सामान आयात भए पनि निर्यात भने पूर्ण रूपमा शून्य छ। उत्तरी छिमेकी चीनसँगको प्रमुख तातोपानी भन्सार नाकाबाट ४७ अर्ब ४८ करोड ६१ लाख बराबरको सामान आयात भए पनि निर्यात शून्य छ। कुनै समय निर्यातको ठूलो माध्यम बनेको यो नाका अहिले चिनियाँ तयारी पोशाक र विद्युतीय सामग्री भित्र्याउने थलोमा मात्र सीमित भएको छ।
तातोपानीबाहेक तराईका सुथौली नाकाबाट १० अर्ब ७५ करोड, सुनसरीबाट २ अर्ब २४ करोड, जनकपुरबाट १ अर्ब ३२ करोड र महेशपुरबाट ८६ करोडभन्दा बढीको सामान भित्रिए पनि निर्यात शून्य छ। यसैगरी सती, भद्रपुर, सिराहा, राजविराज र ठाडी जस्ता साना नाकाहरूबाट पनि आयात मात्र भएको छ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ४६ लाखभन्दा बढीको आयात भए पनि निर्यातको खाता खोल्न सकेको छैन। अर्कोतर्फ पशुपतिनगर र त्रिवेणी जस्ता साना नाकाहरूमा भने सानै परिमाणमा भए पनि द्विपक्षीय व्यापार भइरहेको छ।
अर्बौँको सामान भित्रिने नाकाहरूबाट एक रुपैयाँको पनि नेपाली वस्तु बाहिरिन नसक्नुले मुलुकको उत्पादनमूलक क्षमतामा आएको ह्रास र कमजोर निर्यात प्रवर्द्धन नीतिलाई प्रस्ट पारेको छ।










Facebook Comments