काठमाडौं — कुनै समय सवारीसाधनको लामो लाइन, धुवाँधुलो र घण्टौँको जामका कारण यात्रुका लागि सास्तीको पर्याय बनेको नागढुंगा सडकखण्डमा अहिले फरक दृश्य देखिन थालेको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक नागढुंगा क्षेत्रमा सवारीको चाप घटेको छ। विगतमा चाडपर्वका बेला अत्यधिक व्यस्त रहने यो सडक यस वर्षको दशैँमा तुलनात्मक रूपमा शान्त देखिएको छ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्ने र राजधानीबाट बाहिरिने यात्रुका लागि मुख्य मार्गका रूपमा रहेको नागढुंगा–नौबिसे सडकखण्डमा सुरुङमार्गले यात्रालाई सहज बनाएको छ। विशेषगरी दशैँमा घर जाने र फर्किने यात्रुले भोग्दै आएको लामो जाम, उकालो सडकको सकस तथा सवारीसाधनबाट निस्कने धुवाँधुलोको समस्या कम भएको छ।

ad

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा उकालोमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता घटेको यात्रुहरूको अनुभव छ। पहिले गाडीको हर्न र धुवाँधुलोले अस्तव्यस्त हुने सडकमा अहिले यात्रुहरू सहज रूपमा आवतजावत गरिरहेका छन्। सडकको अवस्था फेरिएसँगै कतिपय यात्रु भने बाटोमा जामका कारण होइन, वरपरको दृश्य हेर्न र तस्बिर खिच्न रोकिन थालेका छन्।

जामको त्रास हटेपछि यात्रामा सहजता

नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर आराम गरिरहेकी चितवनकी कृष्टी पौडेलका लागि यस वर्षको यात्रा विगतभन्दा फरक रह्यो। सवारीमा यात्रा गर्दा वाकवाकी लाग्ने समस्या हुने भएकाले पहिले यो सडक हुँदै दशैँमा घर जानसमेत मन नलाग्ने गरेको उनले सुनाइन्।

“गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दशैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो। अहिले यात्रा सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ। यति सहज रूपमा पार गर्न पाइन्छ भन्ने सोचेकी थिइनँ,” उनले भनिन्।

चाडपर्वका बेला नागढुंगाको जामले सबै उमेर समूहका यात्रुलाई प्रभावित पार्ने गरेको थियो। लामो समय गाडीभित्रै बस्नुपर्ने अवस्था हुँदा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीले थप कठिनाइ भोग्नुपर्थ्यो। अहिले सुरुङमार्ग प्रयोग गर्न थालेपछि यात्राको समय र बाटोमा हुने झन्झट कम भएको यात्रुहरू बताउँछन्।

सुरुङ प्रवेशद्वारभन्दा माथिल्लो पिपलमोड सडकखण्डमा मोटरसाइकल रोकेर दृश्य नियालिरहेका रामजी वस्तीले पनि यसपटकको यात्रा सहज भएको बताए।

“दशैँमा घर जाँदा र फर्किँदा युद्ध लडेजस्तो हुन्थ्यो। गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो,” उनले आफ्नो अनुभव सुनाए।

सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचिरहेका विष्णु श्रेष्ठको अनुभव पनि उस्तै छ। पहिले जामका कारण सडकमा रोकिनुपर्ने अवस्था रहेकोमा अहिले वरपरको दृश्य र सुरुङको प्रवेशद्वार हेर्न स्वेच्छाले रोकिन मन लाग्ने गरेको उनले बताए।

धुवाँधुलो र लामो प्रतीक्षाबाट राहत

सार्वजनिक सवारीसाधनमार्फत सुरुङ पार गरेर धादिङको खानीखोला पुगेकी तनहुँकी चेली मगरले पनि यात्रामा आएको परिवर्तन महसुस गरिन्। विगतमा जाम र धुवाँधुलोका कारण दशैँ–तिहारमा घर आउजाउ गर्न कठिन हुने गरेको उनको भनाइ छ।

“जाम र धुलो–धुवाँ सम्झेर दशैँ–तिहारमा घर आउन–जान बर्सेनि सास्ती हुन्थ्यो। एकातिर घण्टौँको जाम, अर्कोतिर गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो। अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ। पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो,” उनले भनिन्।

नागढुंगा सडकखण्डमा देखिएको परिवर्तनले सुरुङमार्गको महत्त्वलाई यात्रुका अनुभवमार्फत पनि उजागर गरेको छ। राजधानी र बाहिरी जिल्लाबीचको आवागमन सहज बनाउनुका साथै यसले विगतमा यात्रुहरूले भोग्दै आएको जामको समस्यालाई कम गर्न सहयोग गरेको छ।

 मुलुककै पहिलो यातायात सुरुङमार्ग

२.६८ किलोमिटर लम्बाइको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। काठमाडौं र धादिङलाई जोड्ने यस आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानी रहेको छ।

सुरुङमार्ग निर्माणको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। निर्माणका क्रममा मुख्य सुरुङको ब्रेकथ्रु तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा भएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा उकालो हुँदै यात्रा गर्ने सवारीसाधनको चाप घटेको छ। कुनै समय राजधानी प्रवेश गर्ने यात्रुका लागि सबैभन्दा झन्झटिलो सडकखण्डमध्ये एक मानिने नागढुंगामा अहिले सहज आवागमनसँगै फरक वातावरण देखिन थालेको छ।

सुरुङमार्गले यात्राको कठिनाइ घटाए पनि नागढुंगा क्षेत्रको सडक व्यवस्थापन र सुरुङको प्रभावकारी सञ्चालनलाई निरन्तरता दिनु महत्त्वपूर्ण हुनेछ। यस वर्षको दशैँमा देखिएको सहजताले भने राजधानी र बाहिरी जिल्लाबीचको आवागमनमा आधुनिक पूर्वाधारले पार्न सक्ने प्रभावलाई स्पष्ट पारेको छ।