विगतका केही शताब्दीको अध्ययन गर्ने हो भने सञ्चार क्षेत्र विकासमा राम्रो फड्को मारेको क्षेत्रका रूपमा लिन सकिन्छ । अहिले हामीले उपयोग गरिरहेको डिजिटल प्रविधिअन्तर्गत सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, मोबाइल सञ्चार तथा विश्वव्यापी सञ्जालमार्फत ध्वनि, दृश्यलगायत माध्यमबाट पृथ्वीका हरेक कुना–काप्चामा प्रवाह हुने सञ्चारलाई हेर्दा केही शताब्दीभित्र आधुनिक विज्ञानले विकास गरेका सञ्चार प्रविधि निकै अगाडि पुगेको आभास हुन्छ ।

तर, सिन्धुघाटी सभ्यताका हडप्पा, मोहनजोदडो, धोलावीरा र लोथलजस्ता सहरमा कुनै प्रकारका सञ्चार प्रविधि उपयोग भएका थिए कि थिएनन् भन्ने विषयमा थप खोजी गर्न बाँकी नै छ । त्यसैगरी मेसोपोटामिया, इजिप्ट, चिनियाँ, ग्रिक तथा रोमन सभ्यतामा सञ्चारका कस्ता पद्धति उपयोगमा थिए भन्ने विषयमा पनि अध्ययन आवश्यक देखिन्छ ।

ad

त्यसैगरी वैदिक सनातन कालखण्डमा पनि सञ्चार पद्धति उपयोग भएका थिए कि थिएनन् र ती पद्धतिहरू आजका प्रविधिसँग कुनै प्रकारको तालमेल राख्छन् वा राख्दैनन् भन्ने विषयमा अध्ययन गर्न आवश्यक छ । करिब १० हजार वर्षपहिलेको सप्तऋषि सभ्यतामा आध्यात्मिक सञ्चार प्रणालीको उपयोग भएको कुरा हिन्दु शास्त्रहरूमा भेटिन्छ । महाभारतमा सञ्जयलाई वेदव्यासले दिव्यदृष्टि प्रदान गरेको र उनले युद्धभूमिमा भइरहेका घटनाहरू दरबारमा बसेर प्रत्यक्ष रूपमा वर्णन गरेको उल्लेख छ ।

यदि युद्धभूमिका हरेक गतिविधिलाई सूक्ष्म रूपमा अवलोकन गरी दृश्यसहित बताउनुलाई आधुनिक सञ्चारसँग दाँजेर हेर्ने हो भने दिव्यदृष्टि भनेको आजको प्रविधिमा उपयोग भएका उपकरणजस्तै कुनै वस्तुमार्फत जोडिएको प्रविधि थियो कि आज हामीले परिकल्पना गरिरहेका बीसीआई (ब्रेन कम्प्युटर इटरफ्रेस) वा अन्य कुनै प्रविधि थियो भन्ने जिज्ञासा बाँकी नै रहन्छ । अथवा जीवविज्ञान र भौतिक विज्ञानलाई जोडेर सञ्चालनमा ल्याइएको कुनै प्रविधि थियो कि भन्ने विषयमा पनि वैज्ञानिक ढंगले अध्ययन गर्न सकिन्छ ।

यदि जैविक प्रणालीमै कुनै उपकरणबिना सञ्चार, अझ भनौँ दूरसञ्चार, सम्भव थियो भने त्यसको खोजीबाट आधुनिक जगत्लाई ती प्राचीन अवधारणा वा प्रणालीसँग जोडेर आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने सम्भावना रहन्छ ।

पश्चिमेली दर्शन र पूर्वीय दर्शनबीच सञ्चार विकासक्रमका मूल्य र मान्यता नै फरक–फरक छन् भने आजको भूमण्डलीकरणको समयमा पूर्वीय दर्शनको आलोकमा आधुनिक सञ्चारको अध्ययनबाट आधुनिक विज्ञानका लागि सैद्धान्तिक दिशा प्रदान हुन सक्ने सम्भावना रहन्छ । आधुनिक विज्ञानले प्रमाणीकरण र विश्वव्यापी एकरूपताको सिद्धान्तलाई अंगीकार गर्ने भएकाले तत्–तत् समयका मौलिक सभ्यतामा प्रस्तुत भएका सञ्चार पद्धतिका बारेमा खोजी गरेर तिनलाई आधुनिक विज्ञानसँग जोड्न आवश्यक देखिन्छ । यसका लागि व्यापक खोज तथा अनुसन्धान आवश्यक पर्दछ ।

विज्ञान तथा प्रविधिका धेरै क्षेत्रमा कुनै प्रविधिको विकासअघि सैद्धान्तिक आधार निर्माण गरिन्छ । त्यसपछि विज्ञान र गणितका आधारमा गणना तथा परीक्षण गरिन्छन् र सिद्धान्त स्थापित भएपछि प्रयोगशालामा त्यसको प्रयोगात्मक परीक्षण गरिन्छ । यस दृष्टिले प्राचीन साहित्यमा उल्लेख भएका केही विषयवस्तु प्रविधि विकासका लागि अनुसन्धानका आधार वा परिकल्पनाका रूपमा उपयोगी हुन सक्छन् ।

लिखित सिद्धान्तको खाका कोर्न इन्जिनियरिङ क्षेत्रका विज्ञ र पूर्वीय दर्शनका दिग्गज व्यक्तित्वहरू मिलेर खोज तथा अनुसन्धान गर्न आवश्यक छ । यसका लागि संस्कृत विश्वविद्यालयले इन्जिनियरिङ क्षेत्रमा अध्ययन गरेका व्यक्तिहरूलाई समेत जोडेर अनुसन्धान गराउँदा ‘अन्तध्र्यान’, ‘मनन’, ‘दिव्यदृष्टि’, ‘ध्यानदृष्टि’, ‘चेतना’जस्ता प्राचीन ग्रन्थमा उल्लेखित विषयवस्तुका पछाडि रहेका भावनात्मक, आध्यात्मिक वा सम्भावित वैज्ञानिक पक्षबारे खोज गर्न सकिन्छ ।

यदि ती विषय अलौकिक अवधारणाका रूपमा प्रस्तुत भएका हुन् भने आधुनिक जगत्ले तिनको पुनरावृत्ति वा वैज्ञानिक परीक्षण गर्न सक्ने कुनै आधार वा विधि विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा समेत अनुसन्धान हुन सक्छ । यसो हुँदा आधुनिक सञ्चार विज्ञान तथा प्रविधि ‘मेसिनमार्फत मात्र सञ्चार गर्न सकिन्छ’ भन्ने वर्तमान मान्यतामा नयाँ आयाम थप्न सक्ने सम्भावना रहन्छ ।
ज्योतिषशास्त्र, खगोल विज्ञान, अन्य पूर्वीय विज्ञान तथा पशुपक्षीबाट ध्वनिमार्फत गरिने सञ्चारसम्बन्धी ज्ञानलाई समेत समेटेर आधुनिक विज्ञानसँग तुलना तथा समन्वय गरी एउटा दस्ताबेजीकरण गर्न सके नयाँ खोजका सम्भावना पहिल्याउन सकिन्छ ।
यसका लागि नेपाली प्राविधिकहरूले यहाँको संस्कार, सभ्यता, प्रचलनलगायत आफू अभ्यस्त समाजबाट पूर्वीय दर्शनका विद्वान् गुरुहरूसँग साक्षात्कार गरी इन्जिनियरिङका विभिन्न पक्षसँग जोडेर अध्ययन गर्न आवश्यक देखिन्छ । यसरी पूर्वीय दर्शनको आलोकमा आधुनिक सञ्चार विज्ञानको खोज तथा अनुसन्धानलाई अघि बढाउन सकिन्छ ।

                                                                                                                                                       त्रमशः
(आलेखकार वरिष्ठ इन्जिनियर कुमार भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रिय अध्यक्ष पूवीय दर्शनका अध्यता हुन् ।