काठमाडौं । नेपालमा हालै भएको प्राकृतिक विपत्तिको मुख्य कारण दीर्घकालीन जलवायु तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर हुनु रहेको चीनले जनाएको छ। चीन र नेपालका विज्ञहरूले गरेको प्रारम्भिक अध्ययनले हिमनदीमा आएको अस्थिरताले ठूलो पहिरो निम्त्याएको र त्यसबाट विपत्ति सिर्जना भएको निष्कर्ष निकालेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमसँगै हिमनदी पग्लिने र अस्थिर हुने क्रमले जोखिम बढाइरहेको बताए।

ad

उनका अनुसार नेपालमा रहेको एक हिमनदीबाट बरफ र चट्टानसहितको ठूलो पहिरो तीव्र गतिमा तल झर्दा पहाडको भिरालो भूभाग बगाएको थियो। त्यसैबाट पछिल्लो विपत्ति निम्तिएको प्रारम्भिक मूल्यांकन गरिएको उनले जानकारी दिए।

नेपाललाई सूचना र प्राविधिक सहयोग
विपत्ति भएपछि चीनले प्रभावित क्षेत्रसँग सम्बन्धित तस्बिर, भूउपग्रहबाट प्राप्त विवरण, जलविज्ञानसम्बन्धी तथ्यांक तथा माथिल्लो क्षेत्रमा बनेको अवरोधयुक्त तालबारेको पूर्वसूचनासहितका जानकारी नेपालसँग आदानप्रदान गरेको जनाएको छ।

कुओले विपद्को उद्धार तथा राहतमा चीनको सहयोग जारी रहने बताए। उनका अनुसार तत्काल उद्धारसँगै भविष्यमा यस्ता घटना दोहोरिँदा क्षति कम गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक तथ्यांक आदानप्रदान र जलवायुजन्य जोखिमको संयुक्त अध्ययनमा नेपाल–चीन सहकार्य अझ महत्वपूर्ण हुनेछ।

मौसम विज्ञान, जलस्रोत तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल र चीनबीच लामो समयदेखि सहकार्य हुँदै आएको पनि उनले स्मरण गराए।

हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम
चीनले जलवायु परिवर्तनलाई विश्वभरकै साझा चुनौतीका रूपमा व्याख्या गरेको छ। प्रवक्ता कुओका अनुसार यसको प्रभावबाट कुनै पनि मुलुक पूर्ण रूपमा सुरक्षित छैन। चीनले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि काम गरिरहने जनाएको छ।

नेपालले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम सामना गर्न छिमेकी मुलुकहरूबीचको संयुक्त संयन्त्रका रूपमा ‘हिमालय परिषद्’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको विषयमा भने कुओले त्यसबारे सम्बन्धित निकायसँग जानकारी लिनुपर्ने बताए।

चीनको पछिल्लो भनाइले हिमालय क्षेत्रमा तीव्र रूपमा बढिरहेको हिमनदी पग्लिने तथा अस्थिर हुने क्रमबाट सिर्जित बाढी, पहिरो र अन्य जोखिमलाई नेपाल–चीन सहकार्यको महत्वपूर्ण विषय बनाउने संकेत गरेको छ।