
ढाका — बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै ७६ वर्षीय शहाबुद्दीनले शुक्रबार राष्ट्रिय संसद् (जातीय संसद्) का सभामुख हाफिज उद्दिन अहमदसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले राजीनामा पत्रमा गम्भीर स्वास्थ्य अवस्थालाई मुख्य कारण दर्शाएका छन्। मुटुको रोग, उच्च रक्तचाप र न्युरोप्याथीजस्ता जटिल समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तर रहन नसक्ने उनले उल्लेख गरेका छन्।
राष्ट्रपति पद रिक्त भएसँगै बंगलादेशको संविधानको धारा ५४ बमोजिम सभामुख हाफिज उद्दिन अहमदले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्। अहमद पनि हालै थाइल्याण्डमा उपचार गराएर स्वदेश फर्किएका हुन्। संवैधानिक प्रावधान अनुसार अबको ९० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ।
स्वास्थ्यको कारण देखाइए पनि शहाबुद्दीनको राजीनामा पछाडि गहिरो राजनीतिक पृष्ठभूमि जोडिएको छ। जुलाई-अगस्ट २०२४ को जनआन्दोलन र पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता बहिर्गमनपछि नै शहाबुद्दीनको पदलाई लिएर बंगलादेशमा तीव्र बहस र असन्तुष्टि चल्दै आएको थियो।
भर्खरै मात्र पूर्वप्रधानमन्त्री हसिनाले स्वदेश फर्कने तयारी गरेपछि शहाबुद्दीनमाथि राजीनामा दिन चौतर्फी दबाब अझ बढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२६ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमार्फत भारी बहुमतका साथ सत्तामा आएको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले रिक्त राष्ट्रपति पदका लागि नयाँ उम्मेदवार चयन गर्न आन्तरिक छलफल तीव्र बनाएको छ।









Facebook Comments