काठमाडौं — बेलायतका प्रधानमन्त्री कीएर स्टार्मरले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै बेलायतमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ भने एन्डी बर्नहमले चाँडै प्रधानमन्त्री पदको शपथ लिने अपेक्षा गरिएको छ।

राजीनामा बुझाएपछि स्टार्मरले बकिङ्घम दरबार पुगेर राजा चार्ल्स तृतीयसँग औपचारिक भेट गरेका थिए। बेलायती संवैधानिक परम्पराअनुसार प्रधानमन्त्रीले राजीनामा पेश गरेपछि सम्राटसँग भेट गर्ने र त्यसपछि नयाँ प्रधानमन्त्रीलाई सरकार गठनका लागि आमन्त्रण गर्ने प्रक्रिया अपनाइन्छ।

ad

बकिङ्घम दरबारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री स्टार्मरले प्रधानमन्त्री तथा ट्रेजरीका फर्स्ट लर्ड पदबाट राजीनामा पेश गरेको र राजा चार्ल्सले उक्त राजीनामा स्वीकार गरेको उल्लेख गरिएको छ। भेटका क्रममा स्टार्मरकी पत्नी लेडी स्टार्मरलाई पनि दरबारमा स्वागत गरिएको जनाइएको छ।

स्टार्मरको राजीनामापछि एन्डी बर्नहम पनि सरकार गठनको औपचारिक प्रक्रिया पूरा गर्न बकिङ्घम दरबार पुगेका छन्। उनी राजा चार्ल्ससँगको भेटपछि नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुने र त्यसलगत्तै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ।

यस नेतृत्व परिवर्तनसँगै बेलायतमा जीवित पूर्वप्रधानमन्त्रीहरूको संख्या नौ पुगेको छ, जुन हालसम्मकै उच्च हो। अहिले जीवित पूर्वप्रधानमन्त्रीहरूको सूचीमा जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस, ऋषि सुनक र कीएर स्टार्मर रहेका छन्।

तीमध्ये ८३ वर्षीय जोन मेजर सबैभन्दा ज्येष्ठ जीवित पूर्वप्रधानमन्त्री हुन् भने ४६ वर्षीय ऋषि सुनक सबैभन्दा कम उमेरका जीवित पूर्वप्रधानमन्त्रीका रूपमा रहेका छन्।